अन्तराष्ट्रिय

दक्षिण कोरियाको उत्तरपश्चिममा भीषण डढेलो, एक जनाकाे ज्यान गयाे

रेडियो टाइम्स
`

unn.prixa.net

सोल- दक्षिण कोरिया सरकारले देशको उत्तरपूर्वी क्षेत्रको जङ्गलमा बिहीबार राति सल्किएको डढेलोका कारण तटीय क्षेत्रका पाँचवटा शहर नराम्रोसँग प्रभावित भएपछि शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरिएकाे छ । भीषण आगलागीका कारण गाेस्याेङ, साेक्चाे, गाङन्याेङ, दाेङघाइ र इन्जे शहर प्रभावित भएका छन् ।
 
डढेलोका कारण एक जनाको ज्यान जानुका साथै अन्य ११ जना घाइते भएका छन् । 

केन्द्रीय राजधानी सोलबाट झण्डै २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको जङ्गलमा स्थानीय समयानुसार बिहीबार राति  आगलागी सुरु भएको थियो । 

तीव्र हावाहुरीका कारण जङ्गलको डढेलोले झण्डै दुई सय ५० हेक्टर वन क्षेत्र ध्वस्त भएको छ भने एक सय २५ वटा घर क्षतिग्रस्त भएका छन् । 

हजारौँ स्थानीयबासीलाई रातारात सकुशल उद्धार गरिएको थियो । दक्षिण कोरियाली राष्ट्रपति मून जाए इनले राति नै राष्ट्रिय प्रकोप व्यवस्थापन निकायसँग छलफल गर्नुभएको थियो । 

उहाँले उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी डढेलो नियन्त्रण गर्न आदेश दिनुभएको छ । तीव्र बेगको हावा र अँध्यारोका कारण अग्निनियन्त्रकहरुलाई डढेलो नियन्त्रणको काममा कठिनाई उत्पन्न भएको बताइएको छ ।

यस डढेलो नियन्त्रणका लागि दशभन्दा बढी हेलिकप्टर आगलागी प्रभावित क्षेत्रमा पठाइएको छ । उद्धार कार्यमा १० हजारभन्दा बढी अग्नि नियन्त्रक, सुरक्षाकर्मी र अन्य उद्धारकर्मी परिचालन गरिएको छ ।


प्रकाशित मिति: शनिबार, चैत २३, २०७५, ०५:०४:००
प्रतिक्रिया दिनुहोस्