अन्तराष्ट्रिय

पाकिस्तानको क्वेटामा बम बिस्फोटः १६ जनाको मृत्यु

रेडियो टाइम्स
`

पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम धमाकामा १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय प्रहरीका अनुसार, यो धमाका शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा भएको हो । 

समाचार संस्था एपीपीले यो धमाका बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ । धमाकापछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।

बम धमाकामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, धमाकामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् । 

पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५, ११:०४:००
प्रतिक्रिया दिनुहोस्