खेलकुद

राखेप सदस्य सचिव सिलवाललाई स्वागत र सम्मान

रेडियो टाइम्स
`

खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई रुपन्देहीमा भव्य स्वागत गरिएको छ । उनलाई सफल कार्यकालको शुभकामना सहित मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देही र बुटवल उपमहानगर तथा सैनामैना नगर कमिटीले मंगलबार छुट्टा छुट्टै सम्मान गरेका छन् । सम्मान तथा बधाई कार्यक्रममा बोल्दै सदस्य सचिव सिलवालले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई प्राथमिकता राखेर आफुले कामको सुरुआत गरेको बताए । साग खेलकुद नेपालमा हुने भएपनि तयारी भने सुस्त छ । यसैक्रममा हालै मात्र नियुक्त भएका सिलवालले यसलाई प्राथमिकतामा राखेका छन । उनले खेलकुदका सम्भावनाहरुलाई साकार पार्दै खेलकुदमार्फत समृद्धि हासिल गर्ने काममा लागिने बताए । आगामी १५ मंसिरमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को आयोजना चुनौतीपुर्ण भएको भन्दै यसलाई पुरा गर्ने आफु लागेको बताए । ‘चार महिना समयमा हरेक दिनको कार्यतालिका बनाएर अघि बढिरहेको छु । पोखरामा सागका ७ वटा खेल गराउने गरि पूर्वाधार बनिरहेको उनले बताए । यसैगरि ९ औ राष्ट्रिय खेलकुद समेत पोखराम हुने भएकाले यही पूर्वाधार उपयोगी हुने उनले बताए । काठमाण्डौको रंगशाला बनाउने कामलाई तिब्रता दिएको उनले बताए । खेलकुदमा लागेपछि मानिसको शारीरिक र मानसिक स्तर फरक बन्ने उनको दाबी छ । नेपालको खेलकुदलाई सम्मान गर्ने स्तरमा लग्ने उनले प्रतिबद्धता गरे । खेलकुदमा कम बोल्ने र काम गर्ने क्षेत्र भएको दाबी गर्दै सबै खेलकुदका सरोकारवाला संघसंस्थाहरुलाई औपचारिक कार्यक्रमभन्दा पनि योजना बनाउने, कार्यान्वन गर्ने र परिणाम देखाउने गरि अघि बढ्न उनले सल्लाह दिए । पुर्वाधार बनाएर केन्द्रले स्थानिय सरकारलाई जिम्मा दिने परिपार्टीको शुरुवात भैसकेको भन्दै स्थानियलाई अपनत्व दिने गरि योजना बनाएर काम अघि बढाएको बताए । विद्यालय, क्लबलाई समन्वय गरेर अघि बढेन सके धेरै उमेर समुहका खेलाडीहरु उत्पादन हुने भन्दै स्कुलदेखि ओलम्पिकसम्म जोड्ने गरि योजना बनाउने समेत बताए । यसैगरि सोही अवसरमा मदन भण्डारी स्पोट्स एकेडेमी बुटवल उपमहानगर कमिटि, सैनामैना नगर कमिटी, तिलोत्तमा नगर कमिटि, सिद्धार्थ नगर कमिटि, देवदेह नगर कमिटि र प्रदेश कमिटिले समेत सदस्य सचिव सिलवाललाई सम्मान गरेको छ । एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले खेलकुदलाई बुझेको ब्यक्ति खेलकुदको नेतृत्व पाएको बताए । खेलमा सम्भावना रहेको भन्दै कुनै खेलमा क्षमता भएका खेलाडीले अवसर पाउने उनको दाबी छ । सैनामैनामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका उपप्रमुख विना रानाले सैनामैना नगरपालिकाले खेलकुदका सम्भावनालाई साकार पार्ने गरि कार्यक्रमहरु तय गरिएको बताइन । उनले एकेडेमीसंगको सहकार्यमा कार्यक्रमहरु भइरहेको पनि बताइन । कार्यक्रममा खेलकुदका प्रदेश अध्यक्ष भिम ओली, मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रदेश नं ५ का अध्यक्ष अजित खनाल, मदन भण्डारी स्पोर्टस एकडेमी जिल्ला अध्यक्ष कृष्ण देवकोटालले खेललाई कुनैबेला मनोरन्जनका रुपमा मात्र लिने गरेकोले अब जनजिविकासंग जोड्नुपर्ने बताए । मदन भण्डारी स्पोटर्स एकेडेमी सैनामैना नगर कमिटीका अध्यक्ष यमलाल खरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रेम थापाले स्वागत र सचिव दीपक न्यौपानेले सञ्चालन गरेका थिए । एकेडेमीले सैनामैनामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसैक्रममा एकेडेमीका संस्थापक अध्यक्ष समेत रहेका सदस्य सचिव सिलवाललाई सम्मान गरेको अध्यक्ष खरेलले बताए ।


प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६, १८:०७:००
प्रतिक्रिया दिनुहोस्