स्थानीय

सैनामैनाको कुस्महामा विविध थारु संस्कृतिक कार्यक्रम

रेडियो टाइम्स
`

सैनामैना, पुस २० ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ स्थित कुस्महामा विविध थारु संस्कृतिक कार्यक्रम तथा माघी खिचडी पर्वको शुभकामना अदान प्रदान गरिएको छ । कार्यक्रम सैनामैना–४, कुस्महा टोल विकास संस्थाको आयोजनामा गरिएको हो । 

थारु समुदायमा रहेका राम्रा चालचलन, रितिरिवाज, भेष–भूषा, खानपिन तथा संस्कृतिको संरक्षण गर्नु पर्ने कार्यक्रममा प्रमुख अतिथि रहनु भएका लुम्बिनी प्रदेशका संसद तुलसी चौधरीले बताउनु भयो । संस्कृतिलाई जगेर्ना गर्दै आय–आर्जन हुने गरि व्यवासायीक बनाउनु पर्ने उहाँले जोड दिनु भयो ।  उहाँले भन्नुभयो ‘हामी संग भएका कला, संस्कृति,पेशा र खानपिनलाई व्यवसयीक बनाउनु पर्यो, पुँजीमा बदल्नु पर्यो ।’

राज्यका हरेक तहमा थारु समुदायको उपस्थिति हुने गरि थारु समुदायले सोच्नु पर्ने लुम्बिनी प्रदेश संसद पुष्पा चौधरीले बताउनु भयो ।  आधुनिक समयमा संस्कृतिको संरक्षण संगै आफ्नो क्षमता विकास गर्दै अघि बढ्नु पर्ने उहाँको भनाई छ । 

कार्यक्रममा थारु समुदायको महान पर्व माघी नव वर्ष खिचडीको अवसरमा संस्कृति संरक्षण, प्रवद्र्धन तथा शुभकामना अदान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कुस्महा टोल विकास संस्थाका अध्यक्ष विश्राम थारुले बताउनु भयो । 

कार्यक्रममा सैनामैना नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष धन बहादुर कार्की, नेकपा एमाले सैनामैना नगर इन्चार्ज खुसिराम चौधरी, नेकपा एमाले सैनामैनाका सचिव वुद्धि चौधरी, नेपाली कांग्रेस पुर्व जिल्ला उपसभापति फणिन्द्र शर्मा, थारु कल्याणकारी सभाका केन्द्रीय पार्सद रामवली चौधरी, थारु कल्याणकारी सभा सैनामैना सभापति दुल बहादुर थारु, कुस्मह टोल विकास संस्थाका सचिव केवल प्रसाद थारु लगाएतले थारु संस्कृतिका बारेमा बोल्नु भएको थियो । 
कार्यक्रममा परम्परागत थारु नाच झुमण, सखिया नाच, झिभिया नाच, लाठी नाच, थारु पोसक प्रदर्शन गरिएको थियो । त्यस्तै कार्यक्रममा थारु कलाकारहरुको प्रस्तुति समेत रहेको थियो । 


प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८, ०८:३४:००
प्रतिक्रिया दिनुहोस्