जीवन शैली

हरितालिका तीज र यसको मौलिकता

रेडियो टाइम्स
`

यस वर्ष भाद्र २४ गते हिन्दूहरुको महान पर्व हरितालिका तीज परेको छ । हरितालिका तीजलाई विषेश गरि हिन्दू नारीहरु आदिदेव भगवान महादेवको पूजा,अर्चना गरी मनाउने गर्दछन । यस अवसरमा विवाहिता महिलाहरु आफ्नो पतिको आयु,आरोग्यता एवँ अविवाहिता कन्याहरु उत्तम वर प्राप्तिको लागि कामनाका साथ व्रत बस्दछन । हिन्दू शास्त्रिय मान्यताअनुसार हरितालिका तीजको ब्रत महिला तथा पुरुष दुवैका लागि भएता पनि महिलाहरुले मात्र ब्रत गर्ने चलन हालको सामाजिक परिवेषमा देख्न सकिन्छ ।

यस ब्रत गर्दा ब्रत गर्ने पुरुषले विधुर हुन नपर्ने नारीहरुले स्थिर सौभाग्य र अविवाहित कन्या,कुमारले सर्वगुणसम्पन्न वर वा वधु पाउने मान्यता रहिआएको छ । शास्त्रीय मान्यता अनुसार भाद्र शुक्ल तृतीया अथवा हरितालिका तीजको अवसरमा व्रत वसेर भगवान शिवपार्वतीको पूजा,आरधना गरेमा सुख,शान्तिको प्राप्ति हुने विश्वास रहेको छ । हिन्दू धार्मिक ग्रन्थ अनुसार गिरिराज हिमालयले आफ्नी पुत्री पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन दिएको सानै उमेरदेख महादेव स्वामी पाँउ भनि पूजा आरधना गरेकि पार्वतीलाई मन नपरेपछि आफुले चाहेको वर पाउँन जङ्गलमा गई भगवान शिवजीको शिवलिङ्ग स्थापना गरि पानी पनि नपिई नराहार व्रत वस्दा पार्वतीको कठोर तप,ब्रतको कारणले शिवजी प्रसन्न भई चिताएको कुरा पुगोस भनि आशिर्वाद प्रदान गर्नुभयो त्यसपश्चात शिवपार्वतीको विवाह भयो । त्यसकारण सोहि दिनदेखि हिन्दू नारीहरुले भाद्र शुक्ल तृतीयाको दिनलाई उत्सवको रुपमा मनाउने चलन रहेको छ । सँस्कृत भाषमा “हरित” र “अलिका” दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ जसअनुसार “हरित”को अर्थ हरण गरिएको र “अलिका” शब्दको अर्थ साथी भन्ने हुन्छ ,माता पार्वतीलाई तपस्या,ब्रत गर्नका लागि सहयोग गर्न आफ्ना साथिहरुले लुकाएर(हरण गरि) जँगलमा पुुर्याएका थिए,। सत्ययुगमा आजकै दिन निराहार ब्रत बसी माता पार्वतीले श्रीमहादेव स्वामी प्राप्त गर्नुभएकोले आजको दिन ब्रत बस्दा मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ ।

विशेष गरि आजको दिनमा निराहार ब्रत बस्ने चलन परापुर्वकालदेखि रहिआएको छ अथवा आजको दिनमा पानी पनि नपिएर ब्रत बस्ने चलन रहेको छ । तर सबै ब्रत बस्नेहरुले निराहार नै बस्नुपर्दछ भन्ने पक्कै पनि होईन व्रतालुहरुले आफ्नो स्वास्थ्यको पनि ख्याल राख्दै केहि फलाहार गरेर पनि ब्रत बस्न सकिन्छ । यदि महिलाहरु ब्रतको दिनमा रजस्वला भएको खण्डमा पुरुषले ब्रत वसेर आफ्नो पारिवारिक शान्ति समृद्धिको लागि अविभावकको रुपमा ब्रत गर्न सकिन्छ । नारीहरुलाई हिन्दू धर्ममा विशिष्ट स्थान दिईएको छ । नारीहरुलाई जननी,प्रकृति,देवी,शक्तिस्वरुपमा अथवा शक्तिको श्रोत आदिरुपमा हिन्दू धर्ममा पस्किृत रुपमा ब्याखा गरिएको छ । हरितालिका तीजमा नारिहरुले आफ्नो सम्पूर्ण परिवारको शान्ति,समृद्धिका लागि ब्रत बस्दछन किनभने नारीहरुमा सन्नती तथा आफ्न्तजनप्रतीको जुन माँया तथा त्यागभावना छ त्यो शक्ति निकै निश्चल र करुणायुक्त छ ।

अहिलेको समाजमा तिजलाई भडकिलो तथा यसको वास्तविक महिमालाई नै ओझलमा पार्ने गरि महिनौ अगाडिबाट पार्टि प्यालेसहरुमा मदिराको नशामा आधा रातसम्म नाँचगान तथा भोजभतेर गर्ने चलन मौलाएको देख्न सकिन्छ ,वास्तवमा यो तीजको विकृत स्वरुप पनि हो । महिनौदिनसम्म आफ्नो पतिको घरबाट माईत जान नपाएका चेलिहरु तिजको अवसरमा आफ्नो दाजुभाई लिन आएपछि दाजुभाईको साथ माईत आउने एवँ आफ्ना दुःख पिर र वेदनाका कुराहरु गितमार्फत प्रस्तुत गरि मनोरञ्जन समेत गर्ने एवं माईतिको गच्छेअनुसार मिठो मसिनो दर पकाएर खानु तिजको मौलिकता हो । “उभैँ र देश त्यो पर्वतैमा धान खायो हात्तिले,पराईको छोरो निष्ठुरी मन हिर्काउँछ लात्तिले” भन्दै गितमार्फत आफुले पाएका दुःख कष्ट माईति दिदिबैनीहरुका विचमा गितमार्फत सुनाउँनु तिजमा गाईने गितहरुको प्रकार हो ।

नारीहरुका लागि सृगाँर अपरिहार्य छ नारीको सुन्दरता सृङ्गागरमा अझ बढि निखारिने गर्दछ । विवाहिताहरुका लागि सिन्दुर, पोते ,चुरा सृृँगार हुन ,यी चिजहरुले जिम्मेवारीको आभाष तथा आफुलाई म नारी हुँ,म आमा हुँ भन्ने कुराको भान दिलाउने गर्दछ यसवाट नारीहरुमा प्रेम,करुणा,मातृत्वको भावमा बृद्धि हुने गर्दछ । तर आजभोलि सृगाँरको नाममा आफ्नो आर्थीक हैसियतले नथाम्दा नथाम्दै पनि विभिन्न प्रकारका गरगहनाहरु लगाउने चलनले समाजलाई देखावटी पना एवँ अस्वस्थ र अनावश्यक प्रतिस्प्रर्धामा धकेलेको छ । दिदि र बहिनीमा एवं देवरानी र जेठानीमा, यस्तै विभिन्न प्रकारका सम्बन्धहरुमा गहनाको प्रतिस्प्रर्धाले तीजको मौलिक उपासना पद्धती नै ह्रास हुने खतरा मौलाउन थालेको छ भने तीजको अवसरमा हुने गहनाहरुको प्रर्दशनले चोरी,डकैती लगायतका घटनाहरु यस अवसरमा हुन सक्ने चुनौती समेत निम्त्याएको छ ।

हरितालिका तीज देवताहरुका देवता श्रीमहादेव एवँ माता पार्वतीको आशिर्वाद प्राप्तिका लागि निश्चल मनले मनाउने पर्व हो , यस अवसरमा स्वस्थ्यले साथ दिनेहरुले निराहार तथा नसक्नेहरुले फलाहार वा सात्विक आहाराका साथ तीजको ब्रत मनाउँनु पर्दछ । तीजको ब्रत महिला तथा पुरुष दुवैले गरि देवादिदेव महादेवलाई तथा माता पार्वतीलाई खुसी पारौँ । हरितालिका तीजको सम्पूर्णमा शुभकामना ।

लेखक ः कुलचन्द्र ज्ञवाली सैनामैना,रुपन्देही


प्रकाशित मिति: बिहिबार, भदौ २४, २०७८, ११:५०:००
प्रतिक्रिया दिनुहोस्