स्थानीय

पाल्पा ः ऐतिहासिक भगवती जात्रा क्षमापूजा गरी मनाइँदै

रेडियो टाइम्स
`


भदौ १५, पाल्पा । 
पाल्पाको तानसेनमा मनाइने श्री रण उजिरेश्वरी भगवती जात्रा कोरोना सङ्क्रमणको कारण क्षमापूजा गरी मनाइँदै छ ।
अङ्ग्रेजसँगको युद्धमा नेपाली फौज विजयी भएको दिनको सम्झनामा मनाइँदै आएको ऐतिहासिक भगवती जात्रा यो वर्ष क्षमापूजा गरी मनाउन लागिएको हो। 
नेपाली सेना, गुठियार, व्यवस्थापन समिति तथा सरकारी प्रतिनिधिले सामाजिक दूरी कायम गरेर मन्दिर परिसरमै रथ  घुमाएर जात्रा सम्पन्न गर्ने तयारी गरेको छ।
यसअघि जात्राको अघिल्लो दिन रातभरि जाग्राम बसेर भगवतीको महिमा गाउने र भोलिपल्ट बिहानैदेखि पूजा पाठ गरेर भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दै बजार परिक्रमा गराउने चलन थियो । 
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिंह थापाले कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाउन सुरु गरेको जात्रा हरेक वर्ष मनाइँदै आइएको हो ।  
अङ्ग्रेज फौजसँग बुटवलको जितगढीमा भएको लडाइँमा युद्धमा जानु अघि थापाले विजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने  भाकल गरेको र विजय पश्चात जात्रा मनाउन सुरु गरिएको इतिहासमा उल्लेख छ ।

पाँच वटा नाकाबाट नेपालमाथि भएको आक्रमणमा चार ठाउँमा नेपालले हार बेहोर्नु परे पनि जितगढीको लडाइँमा अङ्ग्रेज फौजलाई नेपाली फौजले हराएको थियो ।
त्यसैको सम्झनामा विसं १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो। नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको इतिहास बोकेको श्रीरण उजिरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्वको मान्यता दिनुपर्ने माग गर्दै आएका छन् । 
आज पाल्पामा स्थानीय रुपमा सार्वजनिक बिदा दिएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८, १०:५४:००
प्रतिक्रिया दिनुहोस्