राष्ट्रिय

लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै कोलम्बो–काठमाण्डौ सिधा उडान

रेडियो टाइम्स
`

भदौ १५काठमाण्डौ ।
श्रीलङ्काको राष्ट्रिय ध्वजावाहक श्रीलङ्कन एअरलाइन्सले आज मङ्गलवारदेखि काठमाण्डौ–श्रीलङ्का सिधा उडान गर्ने भएको छ । श्रीलङ्काबाट लुम्बिनीमा आउने बौद्ध धर्मावलम्बीलाई लक्षित गर्दै उडान सुरु गर्न लागिएको हो ।
श्रीलङ्कन एअरले तत्काललाई हप्तामा दुई दिन मङ्गलवार र शनिवार कोलम्बो–काठमाण्डौ–कोलम्बो उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसपछि यात्रुको चापअनुसार उडान सङ्ख्या थपघट गर्ने तयारी छ । 
प्राधिकरणका अनुसार आज श्रीलङ्कन एअरको पहिलो उडान श्रीलङ्काबाट काठमाण्डौ आइपुग्नेछ । १ सय ४० जना यात्रु लिएर आउनेछ ।
एअरलाइन्सले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने इच्छा व्यक्त गरेको छ । भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या हप्तामा भन्ने यकिन भइसकेको छैन । 
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलङ्का जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको र यसले अवस्था सामान्य भएपछि पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ । यस्तै भारत हुँदै लुम्बिनी घुम्न आउने बौद्ध धर्मावलम्बी लगायतलाई पनि सजिलो हुने विश्वास गरिएको छ । 
श्रीलङ्काको कुल जनसङ्ख्याको ७० प्रतिशत बौद्ध धर्मावलम्बी छन् । नेपाल घुम्न आउने विदेशी पर्यटकमा श्रीलङ्का प्रमुख पाँच देशभित्र पर्छ । अहिले श्रीलङ्कन एअरलाइन्सले साउदी अरेबिया, कतारको दोहा, माल्दिभ्स र दुबई उडान गरिरहेको छ । एअरलाइन्सले आउँदो सेप्टेम्बरदेखि जापान, अस्ट्रेलिया र लण्डनमा पनि उडान सुरु गर्ने योजना बनाएको छ ।


प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८, १०:४७:००
प्रतिक्रिया दिनुहोस्