कला

कृष्ण जन्माष्टमीको हार्दिक शुभकामना

रेडियो टाइम्स
`

टेकराज पन्थी

प्राचिन अभिलेखहरूका आधारमा आज श्रीकृष्णको जन्म भएको दिनलार्इ कृष्णजन्माष्टमी पर्वका रूपमा हिन्दू धर्मावलम्बीहरूले विभिन्न किसिमले मनाउने गर्दछन् । भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा आज कै दिनमा भएको शास्त्रमा वर्णित गरिएको छ । देवकी तथा वासुदेवका आठौँ सन्तानको रूपमा कृष्णको जन्म भएको थियो ।  कृष्ण मथुराका यादवको भृष्नी कुलका थिए भन्ने किंमदन्ति रहेको छ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भाद्रकृष्ण अष्टमीका दिन देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाईन्छ ।  

भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान्  श्रीकृष्णको पूजा आराधना गरी  मनाइन्छ ।ज्ञानयोग,कर्मयोग र  भक्तियोगका  प्रणेता  भगवान्  श्रीकृष्णको  जन्म  द्वापरयुगको  अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा यो पर्व  मनाउने  गरिएको हो  । श्रीकृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्रीकृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।

कंशको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक मान्यता छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको मानिन्छ । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीताका रुपमा प्रचलित भएको छ ।

विशेष गरी महिलाहरू उपवास बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति सङ्गीत गाउने गर्दछन् । यसो  गरेमा  श्रीकृष्ण  प्रशन्न  भई  मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास  रहेको  छ  । विविध धर्म, संस्कृति, परम्परा तथा रीति रिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकोले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न यस पर्वले मद्दत पुर्‍याउने छ ।

आजको दिनमा कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन पनि छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनु भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए र मानवलाई सकारात्मक सोचका लागि थप उर्जा प्रदान गरेका थिए भन्ने शास्त्रमा उल्लेख गरिएको छ । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका बाणिबाट निस्केको पवित्र ग्रन्थलाई श्रीमद्भागवत गीता भनिन्छ। यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ ।

बाल्यकाल देखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । आज विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा भगवान श्रीकृष्णको धर्तीमा आउने र धर्मको उत्थान गर्ने भन्ने धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। यसलाई मनन गरि कृष्णाष्टमी पर्व मनाउदै आईएको छ । साथै भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै पूजा– आराधना गर्ने प्रचलन रहेको पार्इन्छ । यसैले आज युवायुवतीहरू पनि उत्साहित भै यो पर्व मनाउने गरिएको पार्इन्छ ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणी मार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावन स्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । यसरी आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्रि गरी यी चार रातको निकै महत्त्व रहेको शास्त्रमा वर्णित छ । पौराणिक कथन अनुसार युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भागवत गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

आजको दिन पाटनको मङ्गलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौंको पूर्वी भेगस्थित गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित श्रीकृष्ण भावनामृतसङ्घको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत तथा देशभरका अन्य कृष्ण मन्दिरमा पूजा आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ ।  गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

यो पर्व विभिन्न जातजाति र समुदायमा मनाउदै आएको छ । यो पर्व तरार्इ मधेशमा बस्ने थारू समुदायले पनि भब्यरूपमा मनाउने प्रचलन रहेको छ । थारू समुदायमा महिलाहरूले श्रीकृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन् । थारु भाषामा यसलाई ‘अष्टिम्की’ भन्ने गरिन्छ । अष्टमी पर्वका अवसरमा थारू महिलाहरू घरका सदस्यहरू सँगै बसेर सामूहिक रुपमा दर खाने गर्छन् । त्यही दरको आडमा किशोरी तथा महिलाहरू दिनभर निराहार व्रत बस्छन्। किशोरीहरू योग्य वर पाउने कामना सहित व्रत बस्छन् भने विवाहित महिलाहरू आफ्नो पतिको दीर्घायु र सुश्वास्थ्यको लागि व्रत बस्ने गर्छन् । थारू समुदायमा घरमूलीले कृष्णको पूजा नगर्दासम्म अरूले पूजा गर्न पाउँदैन । यसरी कृष्ण ९कान्हा० को पूजा गर्ने बेला थारु समुदायका महिलाहरूले भगवान कृष्णको सम्झनामा गीत पनि गाउने गर्दछन् । परिवारका सबै सदस्यसँगै बसेर एक अर्कामा माया र सद्भाव साटासाट गर्दै रमाउने चलन छ । यसरी रमाउने र दरखाने प्रचलन अन्य समुदायमा पनि रहेको छ । विशेष गरी अघिल्लो दिन रातीसम्म बसेर मिठा मिठा परिकारका दरखाने र कृष्ण जन्माष्टमीका दिन निराहार बसेर पूजाआजा गर्ने प्रचलन पनि रहेको छ ।

धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए । बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यका साथ भगवान विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । श्रीकृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । आजको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् ।

मुलुकका विभिन्न स्थानमा धार्मिक संघ संस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकालिने चलन छ । भारतमा समेत विभिन्न समुदायका हिन्दू धर्मावलम्बीहरू कृष्णाष्टमी हर्षोल्लासका साथ मनाउने गर्छन् । विगतका वर्षहरुमा मुलुकभरका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्ने र मेला लाग्ने गरे पनि गत वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम बढी रहेका कारण कृष्ण मन्दिरमा खासै चहल पहल गर्ने सहज वातावरण र समय अवस्था छैन । शोभायात्रा निकाल्ने र झुला झुलाउने काम पनि यस वर्ष नगर्न आग्रह गरिएको छ ।

विभिन्न प्रसंगमा भगवान श्रीकृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव(जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ । एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । श्रीमद्भागवत् गीताका अनुसारः भगवान श्रीकृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ। श्रीकृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुको लागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया(प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

जुनसुकै धर्म या समूदायको भएपनि कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्रीकृष्ण लार्इ लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ । संगित, स्नेह, सकारात्मक विचारको शुरूवात श्रीकृष्णबाट भएको महसुस गर्न सकिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेका थिए । धर्ममा भगवान कृष्णका महिमा अपरम्पार रहेको चर्चा गरिएको छ । जस अनुसार कृष्ण जम्माष्टमीमा उपवास बस्नाले वा भगवान श्रीकृष्णको भक्ति गर्नाले जीवनमा सुख प्राप्त हुने, सकारात्मक सोचको विकास हुने, कार्यसफल हुने, राम्रा कामहरु बढ्ने जस्ता विषय उल्लेख गरिएको छ । त्यसैले आजको दिनलार्इ सकारात्मक सोचको विकास हुने दिन भनेर मान्न सकिन्छ । नेपाल सरकारले आज यस पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ ।

कोरोना भाईरसको संक्रमणदर अजै पनि तीव्रगतिमा फैलिरहेकोले भगवान श्रीकृष्णको पुजाआजा तथा झाँकी सहित जात्रा भब्यरुपमा मनाउन अप्ठ्यारो परेको छ । कोरोना भाईरसको महामारीकाबाट हामी सवै सुरक्षित हुन सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पालना गर्दै अनिवार्य रूपमा मास्कको प्रयोग गरेर मात्र यो पर्व मनाउ भन्ने आग्रह गर्दै श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आदरणीय दाजुभाइ, दिदी बहिनी लगायत सवैमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं आपसी प्रेम, करुणा र मैत्रीभावनाका लागि शक्ति मिलोस हार्दिक मंगलमय शुभकामना छ ।

 (लेखकः नेपाल सरकारका उपसचिव एवं सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ।)


प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८, १५:५७:००
प्रतिक्रिया दिनुहोस्