स्थानीय

गुल्मीमा आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिने

रेडियो टाइम्स
`

२० चैत, गुल्मी

गुल्मीमा आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गरिने भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा वृक्षारोपण गरिने भएको हो  ।

वन क्षेत्रमा विभिन्न जातीका विरुवाहरु रोपेर त्यसबाट आयआर्जन गर्ने उद्देश्‍यले  वृक्षारोपण गरिने भएको हो । अर्खलेको भालुपातल छहरा सामुदायिक वनमा वनमारा र झाडीले भरिएको स्थानमा बिभिन्न प्रजातीका विरुवाहरु रोपण गरेर आयआर्जन गर्न लागिएको छ ।
भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले अगररुडको विरुवा रोपण गरेर आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रम सुभारम्भ गरिएको छ । वृक्षारोपण गर्दै कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख कमल शाहीले आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रममा विभिन्न वृक्षारोपण गरेर आयआर्जन बढाउनु यसको प्रमुख उद्देश्य रहेको बताए ।

नयाँ कार्यक्रम रहेकाले यस प्रभाकारी ढंगले काम गर्न समितिलाई आग्रह गरे । उनले यस कार्यक्रमले स्थानीयलाई रोजगारि समेत दिने उदेश्यले समेत रहेको बताए । भालुपातल छहरा सामुदायिक वनमा कृषि ज्ञानकेन्द्रको सहयोगमा ५० प्रतिशत र ५० प्रतिशत उपभोक्ता  समितिको गरी ५ लाखको लागतमा वृक्षारोपण गरिने भालुपातल छहरा सामुदायिक वनका अध्यक्ष चोलराज शर्माले बताए ।

आयमूलक कृषि वन प्रवद्र्धन कार्यक्रम अन्तर्गत दाँते ओखर ३५० वटा, अलैंची ५ सय वटा, तेजपात ५ हजार वटा, अगरउड ३ सय वटा, अमृसो ७ हजार वटा, श्रीखण्ड ३ सय वटा रोपण गरिने अध्यक्ष शर्माले बताए । वन क्षेत्रमा विरुवा रोपण गरेर आयआर्जन बढाउने प्रमुख उदेश्य रहेको शर्माको भनाई छ । अहिले वन क्षेत्रमा रहेका विभिन्न झाँडी तथा वनमाराहरु फडानी गर्ने कार्य गरिएको छ ।

आगामी असारसम्म विरुवा रोपण गरिने अध्यक्ष शर्माले बताए । कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–४ का वडाअध्यक्ष बिजय मरासिनी, रेसुङ्गा मुसिकोट सबडिभिजिन कार्यालय गुल्मीका प्रतिनिधी घनश्याम आचार्य, स्थानीय चन्द्रकान्त भण्डारीले यस कार्यक्रम निकै महत्वपूर्ण रहेको बताएका थिए । आयमूलक कृषि वन प्रवर्द्धन कार्यक्रमको सहजीकरण कृष आचार्यले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७, १४:२१:००
प्रतिक्रिया दिनुहोस्