स्थानीय

सैनामैनामा वसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु

रेडियो टाइम्स
`

सैनामैना, चैत १६। 
रुपन्देहीको सैनामैनामा सालझण्डी–ढोरपाटन सडकलाई लक्षित गरी ३८ करोड रुपैयाँ लागतमा वसपार्क र व्यवसायिक भवन निर्माण कार्य सुरु गरिएको छ । सडक प्रस्थान विन्दु सैनामैना–१० सालझण्डीमा सो बसपार्क र व्यवसायिक भवन बनाउन लागिएको हो । 
बसपार्कसहितको व्यवसायिक भवनमा ४६ वटा सुविधासम्पन सटर, दुई शौचालय, प्रतिक्षालय, टिकट काउन्टर, कार तथा बस पार्किड, हरियाली खुल्ला क्षेत्रसमेत निर्माण हुने सैनामैना नगरपालिकाले जनाएको छ ।  पूर्व–पश्चिम लोकमार्गमा बन्ने सो बसपार्कमा करिब सय वटा बस पार्किङ गर्न सकिने छ । 
एक बिगाहा ७ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त बसपार्कको लागत करिब ३२ करोड र व्यवसायिक भवनको लागत ४ करोड ६३ लाख रुपैयाँ रहेको सैनामैना नगरपालिकाका योजना प्रमुख इन्जिनियर सुरज न्यौपाने बताउनु भएको छ ।  व्यवसायिक भवन एक वर्षभित्र भवन निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ भने बसपार्कका संरचनाहरु सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आउनुपूर्व नै सम्पन्न हुने छ ।
भवनको शिलान्यास गर्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको पहिलो बसपार्क र व्यवसायिक भवनले नगरमा ब्यापार विविधता र स्तरीकरणसँगै रोजगारी र आयआर्जनमा वृद्धि हुने बताउनु भयो । 
ढोरपाटन बाटो र बसपार्क निर्माणले चीन र भारतीय क्षेत्र दुवै तर्फ व्यापारमा सहज हुने र बसपार्कमा निर्माण हुने व्यवसायिक भवनमा निजी क्षेत्रको लागत सहभागितासमेत रहने कार्कीले बताउनु भयो । 
बसपार्क र व्यवसायिक भवन निर्माणले सालझण्डीलाई व्यवस्थित सहरमा विकास गर्न टेवा पुग्ने सैनामैना–१० का वडाअध्यक्ष लोक नारायण थापाले बताउनु भयो । सालझण्डी नजिकै प्रदेश सरकारको लगानीमा रिफ्रेस सेन्टर समेत निर्माणाधीन अवस्थामा छ ।
निर्माण शुभारम्भ भएसंगै स्थानिय उत्साही बनेका छन । नगरको यस प्रकारको योजनाले सैनामैनामा समृद्धि र बिकासको आएको स्थानिय सागर खरेलले बताउनु भयो ।


प्रकाशित मिति: आईतबार, चैत १५, २०७७, २२:०७:००
प्रतिक्रिया दिनुहोस्