राष्ट्रिय

जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार

रेडियो टाइम्स
`

११ फागुन, विराटनगर

जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् ।

प्रहरीले मोरङको कटहरी गाउँपालिका(४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका(५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ ।
म्याद थपपछि प्रहरीले खाजा खाने भनेपछि हातको एउटा हतकडी खोलिदिएको थियो । हतकडी खुलेपछि सोमबार दिउँसो ३ः३० बजेतिर उनीहरु फरार भएका हुन् ।

खोजी गर्दा फेला नपरेपछि म्याद थप्न लिएर गएको प्रहरी टोलीले साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएको थियो । आरोपीहरु भारततर्फ भागेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ । फरार भएका थुनुवाको खोजी तीव्र पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्युरो विराटनगरको टोलीले शेखलाई आइतबार दिउँसो कटहरीबाट आठ ग्राम लागुऔषध ब्राउन सुगर ९खैरो हेरोइन० सहित पक्राउ गरेको थियो । चौधरी विराटनगरको बरगाछीबाट लुपिजेसिक, डाइजेल्याब, एभिल, फेनारगनसहितका लागुऔषधसहित आइतबार पक्राउ परेका थिए ।

दुवै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।

अदालतले म्याद थप गर्दै अनुसन्धानका लागि अनुमति दिइसकेपछि फर्काएर प्रहरी कार्यालय ल्याउने तयारी हुँदै गर्दा झुक्याएर दुवै जना फरार भएको जानकारी डीएसपी राईले दिए ।

म्याद थप गर्न अदालत लिएर गएका प्रहरीहरुमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७, १२:०९:००
प्रतिक्रिया दिनुहोस्