स्थानीय

सैनामैनामा भूमि आयोगको कार्य तिव्र 

रेडियो टाइम्स
`

सैनामैना माघ १४ 
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यववस्थित बसोबासीको लगत संकलन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सैनामैनामा नियमित रुपमा गर्दै आएको छ ।  भूमि सम्बन्धी समस्या समाधान आयोगसंग सैनामैना नगरपालिकाले सम्झौता गरे लगतै सैनामैना तयारी सुरु गरेको हो । 

सम्झौता लगतै नगरपालिकाले वडाबाट गणकहरुको वडाबाट छनौट गरेको हो । सैनामैना नगरभित्रको १०७ वटै टोल बिकास संस्थाबाट गणक छनौट गरी उनीहरुलाई आवश्यक परामर्श तथा अभिमुखीकरण कार्यक्रम सैनामैनाले गर्दै आएको छ । भूमि सम्बन्धी समस्या समाधानका लागी सैनामैनामा जनप्रतिनिधि, कर्माचारी, राजनैतिक दल, टोल बिकास संस्थाका पदाधिकारी लगायतको उपस्थितीमा नगरले आवश्यक छलफल र परामर्श गर्दै आएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनु भयो ।  

भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफूले बसोबास वा आवाद कमोत गरेको जग्गा पाउन आयोगले प्रक्रिया सुरु भएकोले नगरले सुक्ष्म तरिकाले कार्य अगाडी बढाउदै आएको प्रमुख कार्कीले जानकारी गराउनु भयो । 

“नगर स्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति, वडास्तरीय भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति सबै गठन गरी तिव्र गतिका काम अगाडी बढाएका छौ”  प्रमुख कार्कीले भन्नु भयो ।  

नगरपालिकाले भुमि सम्बन्धी समस्या ईकाइ कार्यालयको संयोजकमा   सैनामैनाका अधिकृत प्रमोद खनाल तोकेको छ भने अधिकृत सन्त कुमार चौधरी र केवशराज अर्याल नगर स्तरीय कार्यालयबाट खट्नुहुने छ ।   

भूमि सम्बन्धी समस्या समाधान आयोगले २०७७।१०।०९ गते प्रथम पटक सूचना प्रकाशित गरि सकेको छ ।  आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०७७ फागुन १३ गतेभित्र वडा कार्यालय मार्फत् घरदैलोमा खटिएका लगत संकलन वा सम्बन्धित वडा कार्यालयमा फारममा उल्लेखित विवरणलाई पुष्ट्याईं गर्ने प्रमाण कागजात सिधै पेश गरिसक्नु पर्ने छ ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले आफ्नो काम अगाडी बढाएसंगै स्थानियमा उत्साह थपिएको सैनामैनाका थारु अगुवा तथा समाज सेवी खुशीराम चौधरीले बताउनु भयो । केही अन्यौलता पनि जनसमुदायमा रहेकोले त्यसको पनि पुर्ण जानकारी आयोगले दिदै जानु पर्ने समाजसेवी चौधरीको राय छ । 

आयोगले सुचना गरेसगै आफुहरु दिन रात जनताको घरघरमै गएर आयोगले दिईएको सुचना अनुसार लागत भर्ने बिषयमा बताउदै आएको सैनामैनाका वार्ड नं ७ का वार्ड अध्यक्ष डिलाराम बेल्बासेले बताउनु भयो । के हुन्छ कसो हुन्छ भन्ने अवस्थामा सबै वडाबासीलाई आवश्यक समन्वय गर्दै आएको समेत बेलबासेले बताउनु भयो ।   

लागत संकलन कसरी गर्ने र कस्ता ब्यक्तीका लागी कुन प्रकारको फारम भर्ने भन्ने बिषयमा नगरपालिकाले आवश्यक ज्ञान र सहजीकरण गरिरहेको सैनामैनाका गणकको रुपमा छनौट भएका धनश्याम खनालले बताउनु भयो । 

 अभिमुखीकरण कार्यक्रममा सैनामैनाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल र नगरपालिकाका अधिकृत सन्त कुमार चौधरीले प्रशिक्षण दिदै आउनु भएको छ । अभिमुखीकरण कार्यक्रममा सैनामैनामा छनौट भएका गणकहरु, टोल बिकास संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु , वडा सदस्यहरु , लागत संकलन समन्वय समिति लगायतको सहभागिता हुदै आएको छन । 


प्रकाशित मिति: बिहिबार, माघ १५, २०७७, १५:३०:००
प्रतिक्रिया दिनुहोस्