राष्ट्रिय

पाँच वर्ष नै ओली सरकार : अर्थमन्त्री पौडेल

रेडियो टाइम्स
`

बुटवल,  । 
अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले सरकारले आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्ने बताउनु भएको छ । नेपाली जनताले नेकपाको सरकारलाई ५ वर्षका लागि मतदान गरेकोले बर्तमान सरकार वीचमा ढल्छ कि भन्ने आशंका पनि नगर्न मन्त्री पौडेलले आग्रह गर्नुभयो ।
अर्थमन्त्री भएपछि मंगलवार पहिलोपटक गृह जिल्ला रुपन्देही आउनु भएका मन्त्री पौडेलले बुधबार विहान रुपन्देहीको सैनामैना नगरपालिका १ स्थित पर्राेहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित भवन र सैनामैना ४ को पर्रोहा माध्यमिक विद्यालयको नव निर्मित भवन उद्घाटन गर्दै सरकारको विषयमा बाहिर आएजस्तो परिवर्तनको हल्ला निराधार रहेको उल्लेख गर्नुभयो ।
मन्त्री पौडेलले जनताले कुनैपनि नामको अस्थिरता अव स्वीकार गर्न नसक्ने भन्दै सरकार परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभयो ।

अस्थिरता सिर्जना गर्ने कुनैपनि गतिविधि जनताले सहन नसक्ने बताउँदै उहाँले जनतासँग चुनावमा गरिएका प्रतिबद्धताहरु पूरा गरेर छाड्ने दाबी गर्नुभयो । अर्थमन्त्री पौडेलले प्रधानन्त्री केपी शर्मा ओलीले आफुलाई दिएको अर्थमन्त्रीको जिम्मेवारी जनताको पक्षमा काम गरेर सफल वनाउने प्रतिवद्धता समेत जनाउनु भयो ।

त्यसैगरी सैनामैनाको समग्र विषयका बारेमा बोल्दै पौडेलले यस क्षेत्रमा रहेका भौतिक तथा पुर्वाधार लगायत अन्य सम्पुर्ण ठूला तथा साना आयोजनाका कामहरुलाई सम्पन्न गर्दै सैनामैनालाई आधुनिक र व्यवस्थित शहरको रुपमा विकास गरिने बताउनुभएको हो । 
अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका वडा नं १ रानिवगियामा रहेको पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित ८ कोठे भवन र वडा नं ४ मा रहेको पर्रोहा माध्यमिक विद्यालयको १६ कोठेको भवनको वुधवार बिहान एक कार्यक्रमका बिच  उद्धघाटन गर्नुभएको हो ।

सैनामैना पर्रोहा परमेश्वर माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकासबाट रु ३५ लाख, समपुरक अनुदान २० लाख, विद्यालय भौतिक पुर्वाधार निर्माण अनुदानबाट ३६ लाख, उपभोक्ताबाट २७ लाख ९३ हजार ५ सय ५० गरी कूल रु.१ करोड १८ लाख ९३ हजार ५ सय ५० मा निर्माण सम्पन्न भएको हो । त्यस्तै पर्रोहा माविको भवन निर्माणका लागि स्थानीय पुर्वाधार विकासबाट ६५ लाख, समपुरक अनुदानबाट ५० लाख गरी कूल १ करोड ९५ लाख विनियोजन भएकोमा रु. १ करोड ६१ लाख खर्च गरी १६ कोठे भवन निर्माण सम्पन्न भएको सैनामैना नगरपालिकाका मयेर चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
 


प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७, १९:३७:००
प्रतिक्रिया दिनुहोस्