स्थानीय

भलवारी डिपोमा रहेको ट्याङ्करमा आगलागी

रेडियो टाइम्स
`

बुटवल, कार्तिक ६ /

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ७ भलवारीस्थित डिपोमा रहेको एक ट्याङ्करमा आज बिहीबार दिउँसो आगलागी भएको छ । डिपोमा रहेको लु १ ख ८१४५ नम्बरको ट्याङ्करमा एक्कासी आगलागी भए पनि समयमै नियन्त्रणमा लिइएकोले ठूलो क्षति हुनबाट बचेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आयल निगमको डिपोभित्र रहेको पेट्रोल ट्याङकरमा आगलागी भएपनि तत्काल नेपाली सेना र त्यहा रहेको कर्मचारीहरुको प्रयासमा नियन्त्रणमा आएको छ । भारतबाट ल्याईएको पेट्रोल डिपोमा चेकजांच गरेर निस्किने क्रममा गेटमै विहिबार पौने दुई बजेतिर अकस्मात आगलागी भएको थियो ।

त्रिवेणी कुमार यादवको पेट्रोल भरिएको लु १ ख ८१४५ नं. ट्याङकरको क्याबिनमा आगो लागेको थियो । लागेको आगो निगमको डिपो भित्रै रहेको दमकलले नियन्त्रणमा लिएको आयल निगमका एक कर्मचारीले बताए । आगलागीबाट ट्याङकरको क्याबिन पूर्ण रुपमा जले पनि ट्याङकर भने भाग्यवश आगो लाग्नबाट जोगिएको छ ।

क्याविन बाहिर ट्याङकरमा आगो सल्किएको भए ठूलो क्षती हुन सक्थ्यो । तर डिपो भित्रै रहेको दमकलले तत्काल आगो नियन्त्रणमा लिएको कारण निगमको डिपो सम्भावित ठूलो आगलागी हुनबाट जोगिएको छ । आयल निगम भलवारी शाखाले भने आगलागीको घटना गुपचुप पार्ने प्रयास गरेको छ । निगमले आगलागीबारे बताउन चाहेन ।

यसअघि गत सोमबार सांझ भैरहवा स्थित एभरेष्ट पेट्रोल पम्प परिसरमै रहेको ट्याङकरमा पनि आगलागी भएको थियो ।


प्रकाशित मिति: बिहिबार, कात्तिक ६, २०७७, १५:१९:००
प्रतिक्रिया दिनुहोस्